दोहा– विश्वकप फुटबल प्रतियोगिता – २०२२ अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिलले सहज जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । पाँचपल्टको विश्व च्याम्पिन ब्राजिलले एसियाली पावर हाउस मानिने दक्षिण कोरियामाथि ४–१ को जित निकाल्दै निकाल्दै क्वाटरफाइनलको यात्रा सुरक्षित बनाएको हो ।

दक्षिण कोरिया कतार विश्वकपको प्रतिस्पर्धाबाट बाहिरिएको छ । ब्राजिलले मध्यान्तर अघिको खेलमै ४ गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्कन दिएन । मध्यान्तर पछिको खेलमा दक्षिण कोरिया केही सम्हालिदै खेलेको थियो । खेलको ७६ औं मिनेटमा कोरियाले ब्राजिलको गोलपोष्ट चुमाउन सफल भयो । उसले एक गोल गर्दै गोलको अन्तर घटायो । तर कोरिया खेलमा फर्किन सकेन । अन्तत ४–१ गोलले पछिपर्दा विश्वकप प्रतियोगिताबाट बाहिरियो ।

अब ब्राजिलले सेमिफाइनल प्रवेशका लागि अघिल्लो विश्वकपको उपविजेता क्रोएसियासँग प्रितस्पर्धा गर्ने छ । क्रोएसियाले पनि एसियाली देश जापानलाई पेनाल्टीमा हराउँदै अन्तिम आठको यात्रा पक्का गरेको हो । नेपाली समय अनुसार बेलुका पौने नौ बजे भएको खेलमा क्रोएसियामाथि जापानको सुरुवाती अग्रता बनाएको थियो र क्वाटरफाइनलमा जाने बाटो तयगर्दा नगर्दै क्रोएसिया खेलमा फर्कियो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १—१ गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयतिर धकेलियो । अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसक्दा खेल पेनाल्टीमा पुग्यो । पेनाल्टीमा जापानलाई ३–१ ले हराउँदै क्रोएसिया क्वाटरफाइनलमा पुग्न सफल भयो । अब क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच सेमिफाइनलको लागि प्रतिस्पर्धा हुनेछ ।