काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । अघिल्ला दुई कारोबार दिन सकारात्मक भएर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यस दिन भने साढे २४ अंक घटेर बन्द भएको हो । यस दिन नेप्से परिसूचक २४ दशमलव ४६ अङ्कले घटेर १९३८ दशमलव ७६ विन्दुमा झरेको छ ।

यस दिन २४० स्टकको २६ हजार ४७५ पटकको कारोबारमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये २०२ स्टकको मूल्य घटेको छ भने २७ स्टकको मूल्य बढेको छ । शेयरमूल्य बढेका २७ स्टकको मूल्य वृद्धिदर भने न्यून रहेको छ । यस दिन सयपत्री हाइड्रोपावरको शेयरमूल्य ३।१२ प्रतिशत बढेको छ । जुन अन्य स्टकको मूल्य वृद्धिदरभन्दा बढी हो । कारोबारमा आएको अजोड इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ७।३७ प्रतिशत घटेको छ । त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड १, ओरियन्टल होटल र युनाइटेड इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३० करोड ८३ लाख ५७ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको २० करोड २३ लाख ४६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २।३७ प्रतिशत घटेको छ । त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक २।२८ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।