पत्रपत्रिकाबाट

काठमाडौं – बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको ( ट्रायल) मा ७० अङ्क ल्याए पास हुने निर्देशिका यातायात व्यवस्था कार्यालय चाबहिलबाट आइतबार शुभारम्भ गर्ने तयारी गरेको थियो । सोही तयारीअनुरूप उक्त मन्त्रालयका मन्त्री घनश्याम दाहाल र मुख्य सचिव मुकुन्दप्रसाद निरौला शुक्रबार काठमाडौँ आए । ट्रायलको शुभारम्भ उनीहरूले गर्ने कार्यक्रम थियो । तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रयोगात्मक परीक्षा एकाएक शुक्रबार यातायात मन्त्रालयलाई पत्र लेखेर तत्काल ७० अङ्कको ट्रायल रोक्न निर्देशन दियो । जसका कारण तोकिएको कार्यक्रम रोकियो ।

७० अङ्कको ट्रायलका सन्दर्भमा बागमती सरकारले भाँजो हालेको यो नै पहिलोपटक होइन । गत असोज २ गते पनि मन्त्रालयले उक्त ट्रायल लागु गर्ने जमर्को गर्दा अहिलेकै जसरी रोकावट गरिएको थियो । त्यस किसिमको ट्रायलले यातायात क्षेत्र बिचौलियालाई फाइदा पुग्ने भन्दै बागमती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसमा रोक लगाएको थियो । (नागरिक दैनिकबाट)