काठमाडौं – पछिल्लो समयमा मूल्य वृद्धिदरले नयाँ रेकर्ड बनाउँदै गएको छ । विश्व बजारमा ४० वर्षयताकै उच्च मूल्यवृद्धि हुँदा नेपालमा पनि त्यसको प्रभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार आगामी एक वर्षमा बजारमा मूल्य वृद्धिदर १२ प्रतिशत पुग्ने देखिएको छ । ‘तीन महिना र एक वर्षपछि क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ,’ सर्वेक्षणमा उल्लेख गरिएको छ ।
आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै बढेको सर्वेक्षणमा उल्लेख छ । खाद्य र खाद्य वस्तुको सबै उपसमूह, गैर–खाद्य वस्तु तथा सेवा र सबै उपसमूह तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको सर्वेक्षणले देखाएको छ ।
यस्तै, खाद्य र खाद्य समूह अन्तर्गतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैर–खाद्य र सेवा समूहबाहेकका अन्य समूह तथा उपसमूहमा एक वर्षअगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा केही घटेको छ । राष्ट्र बैंकले, आर्थिक वर्ष २०७९–८० को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो ।