पत्रपत्रिकाबाट

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फको नतिजा लगभग आइसकेकाले सबैको ध्यान समानुपातिकतर्फको मतगणनामा केन्द्रित भएको छ । पाँच वर्षअघिको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो स्थानमा रहेको एमाले यसपटक समग्रमा दोस्रो स्थानमा पुगेको छ । समानुपातिकतर्फ भने एमाले पहिलो स्थानमा छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड साढे ४ लाखभन्दा बढी मत गणना सकिँदा एमाले पहिलो स्थानमै रहे पनि २०७४ सालको तुलनामा अहिले ऊ खुम्चिएको छ । अघिल्लो चुनावमा प्रतिनिधिसभा समानुपातिकतर्फ ३३।२४ प्रतिशत समानुपातिक मत पाएको एमालेले यसपटक शनिबार बेलुकीसम्मको मतगणना हेर्दा २६।७५ प्रतिशत मात्रै प्राप्त गरेको छ । अघिल्लो चुनावको तुलनामा यसपटक करिब ६।४९ प्रतिशत कम मत उसले पाएको छ ।

त्यसैगरी प्रतिनिधिसभा प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेको कांग्रेसले पनि अघिल्लो चुनावको तुलनामा यसपटक प्रतिनिनिधिसभा समानुपातिकतर्फ मत गुमाएको छ । अघिल्लो चुनावमा ३२।७७ प्रतिशत मत प्राप्त गरेको कांग्रेसले यसपटक २५।४९ प्रतिशत मत पाएको छ । कांग्रेसले अघिल्लो चुनावको तुलनामा यसपटक समानुपातिकतर्फ ७।२८ प्रतिशत मत गुमाएको हो । (नागरिक दैनिकबाट)