लालबन्दी – मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उनी आज मृत फेला परेका हुन् । भट्टराई शुक्रबार बेलुका उक्त रिसोर्टमा बसेका थिए । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको ११औँ वार्षिक साधारणसभामा सहभागी हुन ६५ वर्षीय भट्टराई सर्लाही आएको शाखाका सचिव सुनिल ठाकुले जानकारी दिए । साधारणसभा आज उक्त रिसोर्टमा गर्ने कार्यक्रम तय भएको थियो ।

सप्तरी घर भएका भट्टराई मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्ष भएपछि जनकपुर बस्दै आएका थिए । शुक्रबार राति खाना खाएर सुतेका भट्टराई बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा ढोका नखोलेपछि झ्यालबाट हेर्दा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले बताउनुभयो ।

रिसोर्टमा मृतक भट्टराईसहित अन्य सञ्चारकर्मीसमेत शुक्रबारदेखि सँगै बसेका र सुत्ने क्रममा भट्टराई छुट्टै कोठामा सुतेको उक्त रिसोर्टका सञ्चालक विमल नगरकोटीले बताए । भट्टराईको रिसोर्टकै कोठामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । भट्टराई बसेको कोठामा उक्तचाप र मधुमेह रोगको औषधीसमेत फेला परेको बताइएको छ । भट्टराईको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।