फाइल तस्वीर


चरिकोट– प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने उम्मेदवारको मतगणनाको कार्य जारी छ । पछिल्लो मतगणनकोको नजिता अनुसार सत्तागठबन्धन एवम् नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गर्दै अघि बढेका छन् ।

प्राप्त पछिल्लो परिणाम अनुसार १६ हजार एक सय ९४ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता लिइरहेका छन् । उनले अहिलेसम्म सात हजार ७०९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले छ हजार ७०० मत प्राप्त गरेका छन् ।

दोलखाको प्रदेशसभा (१) मा १३ हजार पाँच सय सात मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले छ हजार चार सय ७४ मत तथा एमालेका नरबहादुर श्रेष्ठले पाँच हजार तीन सय १९ मत ल्याएका छन् ।

प्रदेशसभा (२) मा १७ हजार चार सय ३१ मतगणना हुँदा एमालेका भरत केसीले सात हजार नौ सय सात र कांग्रेसका बर्मा लामाले सात हजार तीन सय ७३ मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार नौ सय ७८ मत खसेको थियो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।