फाइल तस्वीर, साङ्केतिक तस्वीर


धनुषा – इटहरीबाट महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका लागि जन्ती लिएर हिंडेको जीप दुर्घटना भएको छ । सो दुर्घटना आज शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा भएको हो ।

इटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार पाँच जनाको मृत्यु भएको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेका अनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् भने ९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको परिचय खुलेको छ भने अन्यको परिचय खुलिनसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ । जीप दुर्घटना के कारणले हुन पुग्यो भन्ने बारे प्रहरीले जाँचबुझ गरिरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।