रेखा शर्मा, फाइल तस्वीर


बुटवल – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेता रेखा शर्माले नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नुलाई अस्वभाविक मान्न नहुने बताउनु भएको छ । हालैसम्पन्न निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले आज शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

गठबन्धनको सरकार बनाउँदा प्रतिनिधिसभामा नेपाली काङ्ग्रेस ठूलो दल भएको हैसियतले उसले प्रधानमन्त्री दावी गर्नु स्वाभाविकै भएको उल्लेख गर्नुभयो । माओवादी केन्द्र गठबन्धनको दोस्रो ठूलो दल भएकाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरूबीच आगामी बन्ने नयाँ सरकार गठनबारे छलफल भएपछि मात्रै प्रधानमन्त्रीको टुङ्गो लाग्ने भन्दै नेकपा माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने नवनिर्वाचित सांसद् शर्माले दावी गर्नुभयो ।

सो अवसरमा माओवादी नेत्री शर्माले पार्टीले आगामी दिनमा आफुलाई दिने जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । राजनीतिक दलहरुले अब युवालाई पनि सम्मानजनक रूपमा अगाडि बढाउनुपर्नेमा उहाँको भनाइ थियो । नयाँ ‘भिजन’ र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने पूर्वमन्त्री शर्माको उल्लेख गर्नुभयो ।