साङ्केतिक तस्वीर
कपिलवस्तु – कपिलवस्तु जिल्लाको एक गाउँमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका –४ स्थित चाकरचौडामा भारतीय नागरिक ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो ।

भारतको सिद्धार्थनगर जिल्लास्थित अलिगढवाका खानको हत्या गर्ने उद्देश्यले गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई ठाउँमा गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी गराएका छन् । गोली लागेर गम्भीर घाइते भएका खानलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पु¥याइएको प्रहरीले जनाएको छ ।

भारतीय नागरिक खानमाथि कस्ले र किन गोलि हान्यो भन्ने अहिलेसम्म पहिचान हुन सकेको छैन । नेपाल प्रहरी र भारतीय प्रहरी दुवैले समन्वय गरी खानमाथि गोली हान्ने व्यक्तिको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।