स्याङ्जा – स्याङ्जा क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उमेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार १६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

काङ्ग्रेस उमेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार मोहन रेग्मीलाई दुई हजार ७३० मतान्तरले पराजित गरे । विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार ४३१ मत प्राप्त गरे ।

स्याङ्जा–२ (१) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन् । विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । स्याङ्जा क्षेत्र नं २ मा काङ्ग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । गुरुङले १२ हजार ९५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । एमाले उमेदवार पद्माकुमारी अर्यालले १० हजार ६२७ मतसहित पछ्याइरहेकी छन् । उनीहरुबीच दुई हजार ३२४ मतान्तर छ । रासस