दोहा – फिफा विश्वकप फुटबलको कतार संस्करणमा अनपेक्षित नतिजा देखिएका छन् । विश्व फुटबलका महारथी टिमहरुमाथि कमजोर मानिएका टिमहरुले धावा बोल्दै उनीहरुलाई खेलमा स्तब्ध पारेका नजिता आएका छन् ।

यसैक्रममा आज बिहान भएको खेलमा विश्व फुटबलको सम्राटका रुपमा परिभारित गरिने टिम स्पेनलाई जापानले हराउँदा एसियाली देशहरु पनि फुटबलमा आफ्नो प्रभुत्व स्थापित गराउन सक्षम छन् भन्ने देखाएको छ ।

स्पेनविरुद्ध जापानले सनसनीपूर्ण नतिजा निकाल्दै समूह चरणको विजेता बन्न सफल भएको छ । समूह ‘ई’ मा रहेका यी दुवै टिमको अन्तिम खेलमा जापानले स्पेनलाई २–१ ले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ को यात्रा तय गर्यो । त्यसो त स्पेन पनि उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ । स्पेन पराजित भएपनि गोल अन्तरले जर्मनीलाई पछि पार्दै उपविजेता बनेर नकआउटमा स्थान सुरक्षित गरेको हो ।

एसियाली पावर हाउस मानिने जापान ६ अङ्कसहित समूहको विजेता र स्पेन ४ अङ्कसहित समूहको उपविजेता बन्यो । नकआउटमा अब जापानले क्रोएसियाको सामना गर्दा स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ ।

समूह चरणको खेलमा जापानले जर्मनी टिममाथि २–१ को अनपेक्षित जित निकाली ३ अङ्क जोडेको थियो भने स्पेनलाई पनि २–१ ले नै हराउँदै अर्को ३ अङ्क जोडेर समूह विजेता बन्न सफल भयो । समूह ‘ई’मा रहेको जापान सबैभन्दा कमजोर मानिएको कोस्टारिकासँग भने पराजित भएको थियो ।

जापानले पहिलो खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दा दोस्रो खेलमा भने कोस्टारिकासँग हार व्यहोरेको थियो । तर अन्तिम खेलमा स्पेनलाई पाखा लगाउँदै जापान सनसनीपूर्ण नतिजा सहित नकआउटमा प्रवेश ग¥यो ।

जर्मनीले स्पेनसँग बराबरी खेलेर अङ्क बाँडेको थियो । जर्मनी र स्पेन बराबर खेले, एक÷एक खेल जिते । अङ्क बराबर (४/४) जोडे । तर जापानले विश्वकप विजेता दुवै टिमलाई हराउँदै ६ अङ्क जोडेर समूहकै विजेता बन्यो ।

जर्मनी र कोस्टारिका विश्वकप फुटबलको कतार संस्करणबाट बाहिरिएका छन् । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४–२ ले हराए पनि नकआउट पुग्न पाएन । चार पटकको विश्वकप विजेता टिम जर्मनी लगातार दुई पटक नकआउट चरणमा पुग्न नसकी समूह चरणबाटै बाहिरिन पुगेको छ ।