फाइल तस्वीर


काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आ.व. को पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको हो । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, तीन महिनाको अवधिमा विद्युत विक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गर्दा खर्च कटाइ ८ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको चालु आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलापहरु समेटिएको विवरण अनुसार यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको गरेको र आफ्नो स्वामित्वमा रहेका विद्युत आयोजना र निजी क्षेत्रबाट उत्पादित खरिद विद्युत विद्युत बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी चालु आ.व.को पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको उल्लेख छ ।

आ.व. २०७२÷७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटा व्यहोर्दै आएको प्राधिकरणले त्यसपछिका वर्षहरुमा निरन्तर नाफा कमाउँदै आएको छ । आ.व. २०७६÷७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको प्राधिकरणले आ.व. २०७७÷७८ मा घटेर ६ अर्ब ९ करोड रुपैयाँ नाफामा सीमित भएको थियो । प्राधिकरण भित्र गरिएका सुधारका कारण अघिल्लो (आ.व. २०७८÷७९ मा १६ अर्ब १६ करोड रुपैयाँ नाफा कमाउन सक्षम भएको थियो ।

प्राधिकरणले जनाए अनुसार आन्तरिक रुपमा विद्युत चुहावट नियन्त्रण भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको बृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको हो । नाफाबाट प्राप्त रकमलाई विद्युत खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराउन प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिएको प्राधिकरणले जनाएको छ ।