दाङ – तुलसीपुर उद्योग वाणिज्य सङ्घले मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै सङ्घले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान ११ बजे तालाबन्दी गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही कर्मचारी कार्यालयभित्र थुनिएका छन् । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले कोरोनाले व्यापार व्यवसाय थलिएको बेला मेला महोत्सव गर्न नमिल्ने बताउनुभयो । उहाँले अहिले महोत्सव गर्ने उपयुक्त समय नभएको भन्दै महोत्सवको विरोधमा कार्यालयमा तालाबन्दी गरेको बताउनुभयो । मेला महोत्सव नरोकेसम्म आफूहरुको आन्दोलन जारी रहने उहाँको अडान छ ।

उद्योग वाणिज्य सङ्घले महोत्सवको विरोधमा बुधबार पनि तुलसीपुर बजार ठप्प पारेको थियो । जिल्लाा प्रशासन कार्यालय दाङले मङ्सिर ९ गते नै मेला महोत्सव रोक्न भन्दै निर्देशन जारी गरेको थियो । यता, महोत्सव आयोजक संस्था युथ्स् अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले भने महोत्सव जारी रहने बताउँदै भन्नुभयो– ‘हामीले अनुमति लिएरै महोत्सव लगाएका छौं ।’ ‘अनुमति लिइसकेपछि महोत्सव रोक्ने कुरा हुँदैन ।’ उहाँले महोत्सव सञ्चालनका लागि भनेर लाखौं खर्च भइसकेको बताउनुभयो ।