फाइल तस्वीर ।

विराटनगर – नेपाली काङ्ग्रेस नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले आगामी सरकार नेपाली काङ्ग्रेसकै नेतृत्वमा बन्ने दावी गर्नुभएको छ । विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

हालैसम्पनन निर्वाचनको नतिजा सन्तोषजनक नै भएको र नेपाली काङ्ग्रेस ठूलो पार्टी बनेको हुँदा काङ्ग्रेसकै नेतृत्वमा सरकार बन्ने ठोकुवा गर्नुभयो । यद्यपि, तर काङ्ग्रेस संसदीय दलको नेता को बन्छ भन्ने विषयमा भने डा. कोइराला खुल्न चाहनुभएन । उहाँले संसदीय दलमा पार्टी सभापति शेरबहादुर देउवाको टिमको बर्चस्व भएपनि आफ्नो टिमले संसदीय दलको नेताको लागि प्रयास गर्ने बताउनुभयो ।

नेता डा. कोइरालाले ‘नम्बर गेममा यसै हेर्दा शेरबहादुरजीकै बर्चस्व छ भन्ने देखिन्छ, तर हामी कसरी जाने भन्ने बारेमा सभापतिजीसँग पनि कुरा गर्छु, पार्टीको सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न पनि हुँदैन जस्तो लाग्छ र अन्य साथीहरुसँग पनि कुरा गर्छाैं’– भन्नुभयो ।

नेता डा.शेखर कोइरालाको टिमबाट पार्टी महामन्त्री गगन थापाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए लगतै प्रधानमन्त्रीको आकाङ्क्षा प्रकट गर्दै संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणासमेत गरिसक्नु भएको छ । यससम्बन्धमा भने नेता कोइरालाले केही बताउन चाहनुभएन ।