फाइल तस्वीर ।

स्याङ्जा – मङ्सिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना १० दिनपछि सुरु भएको छ । पुनः मतदान गर्ने नगर्ने विषयमा विवाद भैरहँदा निर्वाचन आयोगले मत गणना गर्न निर्देशनपछि बुधबार राती ११ बजेबाट मत गन्ने काम सुरू भएको हो ।

मत गणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले अग्रता लिनुभएको छ । उहाँको निकटम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका धनराज गुरुङ हुनुहुन्छ । एमाले उम्मेदवार अर्यालले २ हजार ३०४ मत प्राप्त गर्नुभएको छ भने काङ्ग्रेसका उम्मेदवार गुरुङले १ हजार ७०३ मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्याङ्जा २ चापाकोटका ४ वटा बुथमा नेपाली काङ्ग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गर्दै आएका थिए । ती बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन मौन बसेको भन्दै पुनः मतदान गर्न माग भएको थियो । अरु क्षेत्रमा औसतमा ६० प्रतिशत मत खसे पनि त्यहाँ ९८ प्रतिशतसम्म मत खसेको भन्दै एमाले उम्मेदवार पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पाटीका टीकराज गुरुङले पुनः मतदानको मागसहित पत्रकार सम्मेलन गरेका थिए ।त्यसपछि उक्त निर्वाचन क्षेत्रको मत गणनाको काम रोकिन पुगेको थियो ।

निर्वाचन आयोग आफैं के गर्ने भनेर अन्योलमा रहेको तर हिजो बुधबार मात्रै पुनः मतदान नगर्ने निर्णयमा आयोग पुगेपछि मत गणनाको मा सुरु भएको हो । निर्वाचन आयोगले बाजुरा र स्याङ्जा–२ को मत गणना सुरु गर्न हिजो निर्देशन दिएपछि मत गणनाको काम भएको छ ।