फाइल तस्वीर
काठमाडौं – मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका गोरखाका इन्जिनियर कुमार लामिछाने ।
नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक रु. १० लाख आम्दानी गर्दै आउनुभएको हो ।
पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैँसीपालन गर्दै आउनुभएको छ । लामिछानेले रु १५ करोड लगानीमा सुरुको समयमा ३० भैँसीबाट आफ्नो व्यवसाय सुरुआत गर्नुभएको हो । अहिले उहाँको गोठमा एक सय ५० भैँसी र ७० गाई छन् । बीचको समयमा उहाँले तीन सयसम्म भैँसीपालन गरे पनि अहिले धेरै भैँसी बिक्रीवितरण गरेर गाईसमेत पालन सुरु गर्नुभएको छ ।
विसं २०७२ देखि सिभिल इन्जिनियर पेसा अँगाल्नुभएका लामिछानेकी श्रीमती सङ्गीता पनि इन्जिनियर नै हुनुहुन्छ । “सुरुमा म इन्जिनियर भएका कारण कन्स्ट्रक्सनको काम मात्र गर्थें, विगत तीन वर्षदेखि इन्जिनियर पेसासँगै भैँसी र गाईपालन व्यवसाय सुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ”, लामिछाने भन्नुहुन्छ ।
उहाँको गोठबाट हाल दैनिक एक हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमध्ये पाँच सय लिटर काठमाडौँका विभिन्न दूध डेरीमा पठाउने र बाँकी पाँच सय लिटर दूध व्यक्तिको घर–घरमा पु¥याउने गरेको उहाँले सुनाउनुभयो ।
लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर रु. एक सय ५० र गाईको दूधको मूल्य प्रतिलिटर एक सय १० छ । उहाँको फार्ममा हाल २० कर्मचारी कार्यरत छन् । दूध बिक्रीबाट मासिक रु. ३० देखि ३५ लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर रु. १० लाख बचत हुने गरेको उहाँले बताउनुभयो । गाई र भैँसीलाई उहाँहरुले पराल र दाना खुवाउँदै आउनुभएको छ । गाई र भैँसीको मल पनि उहाँले बिक्री गर्नुहुन्छ ।
लामिछानेले काठमाडौँमा गाईपालन र भैँसीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि गृहजिल्ला गोरखामा समेत उक्त फार्मको शाखा विस्तार गर्नुभएको छ । उहाँले गोरखाको सिरानचोक–७ खहरेमा ५० भैँसी र ५० बाख्रापालन गर्नुभएको छ ।
यस्तै सोही ठाउँमा दुई सय रोपनी क्षेत्रफलमा तरकारी खेतीसमेत गरिएको छ । गोरखामा भने चारजनालाई रोजगारी दिएको उहाँले बताउनुभयो । रासस