फाइल तस्वीर


काठमाडौं– सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुखलगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण कार्यमा लागत अनुमानविपरीत कार्य गरी कागजमा सडक निर्माण भएको देखाएर पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुखलगायतले भ्रष्टाचार गरिएको पाइएको उल्लेख गरिएको छ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त प्रमुख इन्जिनियर विनोद पुन, सवइन्जिनियर प्रकाश शाही र कुमार बोहोराले सडक निर्माणमा नगरेको कामको समेत विवरण चढाइ प्रतिवेदन तयार पारेको पाइएको छ। उनीहरुविरुद्ध आयोगले रु सात लाख १४ हजार ४१ बराबरको बिगो दाबी गरेको छ।

नापी किताबमा गलत विवरण तयार पारेर नक्कली बिल भर्पाइ बनाइको पाइएकाले आरोपीसँग बिगोबमोजिमको कारबाही र कैद सजायको माग आयोगले गरेको छ।

आयोगले सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर बुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरविरुद्ध रु सात लाख १४ हजार ४१ बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ। रासस