दोहा – विश्वकप फुटबलको कतारमा जारी संस्करणमा समूह ‘ए’ बाट सेनेगल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेनेगलले इक्वेडरलाई २–१ गोलले पाखा लगाउँदै अन्तिम १६ टिममा आफ्नो स्थान सुरक्षित गरेको हो ।

कतारमा जारी विश्वकप फुटबल–२०२२ को नकआउट चरणमा पुग्ने सेनेगल पहिलो अफ्रिकी देश हो भने यस संस्करणको प्रि–क्वाटरफाइनल (नकआउट) चरणमा पुग्ने छैटौं टिम पनि हो । खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा सेनेगलका लागि ४४ औं मिनेटमा सारले गोल पेनाल्टीमार्फत् गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । इक्वेडरका पिएरो हिन्कापीले १८ यार्ड बक्सभित्र सारलाई नै लडाएपछि सेनेगलले पेनाल्टी पाएको थियो । जसलाई सारले नै सदुपयो गर्दै सेनेगललाई अग्रत दिलाए ।

निकै प्रतिस्पर्धात्मक खेलको ६८ औं मिनेटमा इक्वेडर खेलमा फर्किदै काइसेडोले गोल गर्दै आफ्नो टिमलाई बराबरीमा फर्काएका थिए । तर, त्यसको दुई मिनेट बित्न नपाउँदै सेनेगलका लागि कौलिबालीले गोल गर्दै २–१ गोलको अग्रता बताउँदै सेनेगल दुई दशकपछि विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । यो समूहबाट नेदरल्यान्ड्स समूह विजेता र सेनेगल उप–विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।