फाइल तस्वीर


काठमाडौं— निजी क्षेत्रका दुई ठूला बाणिज्य बैंक अब एक आपसमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकको मर्जन नीति अनुरुप नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिन लागेका हुन् ।


यी दुई बैंकबीच एकापसमा गाभिनेसम्बन्धी सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्ताक्षर गरेका हुन् । दुई बैंकको सञ्चालक समिति निर्णयल एकापसमा गाभिने टुङ्गो लागेको हो ।

नेपाल राष्ट्र बैंकले यी दुवै बैंकलाई आगामी पुस २२ गतेसम्मको गाभिने समयसीमा तोकेको छ । राष्ट्र बैंकले तोकिदिएको समयभित्र नै एकापसमा गाभिई एकीकृत कारोबार गर्ने तयारीमा रहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो । दुई बैंकबीच १०० दशमलब ९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । इन्भेष्टमेन्ट बैंकको एक कित्ता शेयर बराबर मेगा बैंकको ० दशमलब ९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ दशमलब ३१ अर्ब र मेगा बैंकको १६ दशमलब १२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी रु ३४ दशमलब ४३ अर्ब हुनेछ । मर्जरपछि बन्ने संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे रहेन सहमति भएको छ । दुवै बैंक एकआपसमा गाभिए पछि एकीकृत कारोबार हुने भने एकीकृत बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने भएको छ ।