फाइल तस्वीर


काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेसँगै नेपाली सेयर बजार खस्केको छ । आज सोमबार सेयर बजारमा १५ अङ्कमाथिको गिरावट आएको हो । नेपाल राष्ट्र बैंकले हिजो आइतबार चालू आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो ।

आज नेप्से सूचकमा १५ दशमलब ६१ अङ्कले घट्दै १९५० दशमलब ३७ अङ्कमा झरेको छ । कारोबार रकममा समेत गिरावट आउँदै १ अर्ब ४९ करोड ४३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन हिजो झन्डै ३३ अङ्कले नेप्से घटेको बजारमा २ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक बाहेक अन्य सबै उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १ दशमलब ५१ प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो समूहको १ दशमलब ४१ प्रतिशत, डेभलपमेन्ट बैंक समूह १ दशमलब ३८ प्रतिशत र हाइड्रोपावर समूहमा १ दशमलब २२ प्रतिशतले गिरावट आएको छ । यता म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक भने क्रमशः ० दशमलब २४ प्रतिशत र ० दशमलब १६ प्रतिशतले बढेका छन् ।