एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, फाइल तस्वीर ।


काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवम् प्रतिनिधिसभाका लागि नवनिर्वाचित सदस्य विष्णुप्रसाद पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढ्ने बताउनु भएको छ ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले आज सोमबार बिहान बुटवलमा स्थानीय सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै ‘मुलुकको विकास, समृद्धि र न्यायको अभियानलाई गति दिन एमालेले नेतृत्वदायी भूमिका खेल्ने’ दावी गर्नुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गरेका हो । एमाले उपाध्यक्ष पौडेलले राष्ट्रलाई अघि बढाउने सन्दर्भमा आफ्नो पार्टीले सङ्घीय संसद् र प्रदेशसभामा पनि आफ्नो पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्ने जिकिर गर्नुभयो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले उपाध्यक्ष पौडेलले ‘राजनीतिक स्थायित्वका लागि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन गर्ने मुद्दा थियो । तर, आज यतिबेलासम्म आइपुग्दा हामीलाई बहुमत प्राप्त गर्न सम्भव भएन । हामी यो प्रकट भएको जनादेशलाई सम्मान गर्छौं । त्यसलाई स्वीकार गर्छाैं र, त्यसअनुरूप अघि बढ्छौं’ — भन्नुभयो ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले ‘नेकपा एमालेले राष्ट्रिय राजनीतिमा लिड रोल नलिँदासम्म देश अगाडि बढ्न सक्दैन, देशले अस्थिरताको चक्रव्यूहबाट मुक्ति पाउन र देशको विकास, समृद्धि र सामाजिक न्यायको अभियानले गति प्राप्त गर्न पनि देशका लागि एमालेको सरकार आवश्यक भएको’ दावी गर्नुभयो ।

उक्त अवसरमा बोल्दै एमालेका नवनिर्वाचित सांसद् पौडेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सबै स्थानीय राजनीतिक पार्टीहरूको सुझाव लिएर अघि बढ्ने भन्दै रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का आम मतदाताको सम्मान गर्दै उहाँहरूको समृद्धिका लागि आफूले काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।