कतार – फिफा विश्वकप फुटबलको कतारमा जारी संस्करण अन्तर्गत समूह ‘ई’ को आफ्नो दोस्रो खेलमा स्पेन र जर्मनीबीचको खेल बराबरीमा सकिएको छ । समूहचरण अन्तर्गतको दोस्रो खेलमा पनि जर्मन जित विहिन बनेको छ । पहिलो खेलमा जापानसँग हार व्यहोरेको जर्मन आफ्नो दोस्रो खेलमा स्पेनसँग बराबरीमा रोकिंदा कतार विश्वकपको यात्रामा पूर्णविराम लाग्ने खतरा देखिएको छ ।

कतारको अल बायेट रङ्गशालामा भएको समूह ‘इ’ मा स्पेनसँगको बराबरीले जर्मनीको दोस्रो चरणको सम्भावना अन्तिम खेलको प्रदर्शनमा निर्भर हुने मात्र नभै उसको नकआउट चरणको यात्राका लागि स्पेन र जापानबिचको खेलले पनि निर्धारण गर्नेछ । जर्मनले समूहचरणको बाँकी एक खेलमा कोस्टारिकालाई हराउनु पर्दछ भने स्पेनले जापानलाई हराउनु पर्ने हुन्छ । यसो हुनसकेको खण्डमा मात्रै जर्मन अर्को चरणमा जान सक्दछ । यति जापानले स्पेनसङग बराबरी नतिजा निकाल्न सकेमा जर्मनको कतार विश्वकप संस्कणको यात्रामा पूर्णविराम लाग्नेछ ।

निकै प्रतिस्पर्धात्मक खेलमा स्पेन र जर्मनले मध्यान्तर अघिको खेल गोलरहित खेलेका थिए । मध्यान्तरपछिको खेलको ६२ औ मिनेटमा आफ्नो टिमका लागि अल्भारो मोराटाले पहिलो गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । मोराटाले जोर्डी अल्बाको क्रसलाई आकर्षक फ्लीप गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनी विश्वकपमा सब्सटिच्युट खेलाडीको रुपमा मैदान छिरेर लगातार दोस्रो गोल गर्ने पहिलो स्पेनिस खेलाडी हुन् ।

एक गोलले पछि परेको जर्मनलाई खेलमा फर्किन करिब २० मिनेट पर्खनु पर्यो । गर कि मरको अवस्थामा रहेको जर्मनका लागि खेल अन्तिम सङ्घारमा आइपुग्दा सब्सटिच्युट खेलाडी निक्लास फुलक्रुगले ८२ औं मिनेटमा गोल गर्दै आफ्नो टिम जर्मनका लागि गोल गर्न सफल भए । अन्ततः स्पेन र जर्मनबीचको खेल बराबरीमा सकियो ।

समूह ‘ई’ मा रहेको स्पेन ४ अङ्कका साथ शीर्ष स्थानमा छ भने जापान र कोस्टारिकाको समान ३–३ अङ्क रहेको छ । यो समूहको अङ्क तालिकामा जर्मनले १ अङ्कमात्र जोडेको छ ।