प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेश बस्नेत, फाइल तस्वीर ।


इलाम – इलामको निर्वाचन क्षेत्र नम्बर १ को नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेत प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका सम्मानित नेता गठबन्धनका उम्मेदवार झलनाथ खनाललाई हराउँदै उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित बस्नेतले २५ हजार ६९९ मत पाउँदा नेता खनालको पक्षमा भने २३ हजार ४५ मतमात्र खस्यो । एमालेका बस्नेतले गठबन्धनका साझा उम्मेदवार खनाललाई जम्मा २ हजार ९ सय ५७ मतको अन्तरले हराउनु भयोे । निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

समानुपातिकतर्फको मतगणना सकेर मात्र आधिकारिक रुपमा विजयी भएको घोषणा गर्ने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । एमालेमा रहँदा पटक पटक सो क्षेत्रबाट निर्वाचित हुनुभएका खनाल एमाले विभाजित भएपछि नेकपा (एस) मा जानुभएको थियो ।

२०४८ बाट निर्वाचनमा होमिनुभएका खनालको यो दोस्रो पराजय हो । यसअघि २०५६ मा नेपाली कांग्रेसका बेनुपराज प्रसाईले खनाललाई हराउनुभएको थियो । त्यस यताका निर्वाचनमा विजयी बन्दै आउनुभएका खनाल २०६८ मा २०४ दिन प्रधानमन्त्रीसमेत बन्नुभएको थियो ।

खनाललाई हराउनुभएका नेता बस्नेत खनालकै चेला हुनुहुन्छ । दुई पटकसम्म इलाम नगरपालिकाकाको नगरप्रमुखमा निर्वाचित बस्नेत यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।