फाइल तस्वीर


दोलखा – अघिल्लो आइतबार सम्पन्न निर्वाचनको परिणाममा विवाद उठेपछि दोलखाको तामाकोशीस्थित अमर मावि मतदान केन्द्रमा पुनः मतदानस्थलमा फेरि चुनाव हुने भएको छ । निर्वाचनको दिन मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी दिएपछि त्यहाँ पुनः मतदान हुन लागेको हो ।

त्यस केन्द्रमा विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न लागेको बताइएको छ ।

एमाले उम्मेदवार सिवाकोटीले बैत्यश्वरको बैत्यश्वर मावि र वडा कार्यालय पिपलबोट मतदान केन्द्र, तामाकोशीको अमर मावि मतदान केन्द्र, शैलुङको नविन मावि र मेलुङ ४ को जुके प्राविका केन्द्रहरुमा पुन मतदानको माग गर्दै निवेदन दिएका थिए ।

आयोगको बोर्ड बैठकले यी सहितका विवादमा परेका अरु केही मतदानस्थलमा फेरि चुनाव गर्ने निर्णय गरेको हो । आयोगले फेरि मतदान गर्न लागेका मतदानस्थलको सूचि भने सार्वजनिक गरेको छैन । दोलखामा एमालेका सिवाकोटीसहित नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीसहितका २१ जना चुनावी मैदानमा छन् ।