फाइल तस्वीर
काठमाडौं – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले पहिलो जित निकालेको छ । लुसाएल स्टेडियममा गएराती सम्पन्न खेलमा अर्जेन्टिनाले पहिलो जित निकाल्दै मेक्सिकोलाई २–० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेसी र एन्जो फर्नान्डेजले गोल गरे । दुबै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ६४ औं मिनेटमा मेसीले डी–बक्स बाहिरबाट सुन्दर गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । यस्तै, ८७ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

जितसँगै अर्जेन्टिना २ खेलमा ३ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । २ खेलमा ४ अङ्कसहित पोल्याण्ड शीर्षस्थानमा रहँदा ३ अङ्कसहित साउदी अरेबिया तेस्रो तथा १ अङ्क जोडेको मेक्सिको पुछारमा रहेको छ । अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा बुधबार पोल्याण्डसँग खेल्नेछ । मेक्सिको पनि सोही दिन साउदी अरेबियासँग भिड्नेछ ।