दोहा–कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार दिउँसो भएको खेलमाा अस्ट्रेलियाले ट्युनिसियामाथि सङ्घर्षपूर्ण १–० जित निकालेको छ । अद जनौव स्टेडियममा खेलाइएको समूह ‘डी’ अन्तर्गत भएको खेलको २३ औं मिनेटमा अस्ट्रेलियाका लागि मिच ड्युक गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ४१ औं मिनेटमा ट्युनिसियाका मोन्टारी तालबीको सटिक प्रहार गोलपोस्टको बारमा लागेर फर्किको थियो । पहिलो चरणको सुरुवाती खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको अस्ट्रेलिया ट्युनिसियामाथि दवाव दिंदै खेलेको थियो । ट्युनिसियाले खेलमा फर्कन निकै प्रयास गरेता पनि कुनै सिप नचल्दा हार व्यहोर्ना बाध्य भयो ।

डेनमार्कसँग पहिलो खेलमा बराबरी खेलेर अङ्कबाँडेको ट्युनिसिया अस्ट्रेलियालाई हराएर नकआउट चरण पुग्न चाहन्थ्यो । तर यस्को सपनामा ठेस लागेको छ । अब ट्युनिसिया नकआउट चरणमा पुग्न कठिन हुनेदेखिएको छ । ट्युनिसिया र अस्ट्रेलिया दुवैलाई अन्तिम १६ मा पुग्न अर्को खेल जित्नु पर्ने हुन्छ । ट्युनिसियाले अब फ्रान्सलाई हराउनु पर्ने हुन्छ नकआउट चरणमा पुग्नको लागि ।

ट्युनिसिया पहिलो खेलमा बलियो मानिएको डेनमार्कलाई बराबरीमा रोकेकाले अस्ट्रेलियाविरुद्ध जित निकाल्ने अपेक्षामा थियो । अस्ट्रेलिया भने पहिलो खेलमा फ्रान्ससँग पराजित भएकाले पहिलो जितसहित नकआउटको झिनो आसाका लागि पनि जित्नु पर्ने दवाव थियो । जुन सपना पुरा गरेको छ ।