नुवाकोट – नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका तामाङ १७ हजार दुई सय ४९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजयसिंह लामा (तामाङ)ले ९ हजार एकसय २४ मत ल्याएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । यसअघि वि.सं २०७४ मा प्रतिनिधिसभा सदस्यमा समानुपातिक प्रणालीबाट सांसद भएका तामाङ वि.सं २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट साझारुपमा कांग्रेसका उम्मेदवार बहादुरसिंहले एमालेको उम्मेदवार विजयी सिंहभन्दा आठ हजार एक सय २५ बढी मत ल्याएर निर्वाचित भएका हुन् । उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रणप्रसाद न्यौपानेले दुई हजार छ सय २६, मङ्गोल नेशनल अर्गनाइजेशनका दिलमान तामाङले एक हजार ९०, हाम्रो नेपाली पार्टीका वसन्त सापकोटाले सात सय ३० र स्वतन्त्र उम्मेदवार सिंहराज लामाले ३० मत प्राप्त गरेका छन् ।