दोहा– कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताको समूह ‘बी’ अन्तर्गतकै दोस्रो चरणको खेल इङ्ग्ल्याण्ड र अमेरिकाबीच गोलरहित बराबरीमा रोकिंदा दुवै टिमले १/१ अङ्क बाँडेका छन । अल बायत स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा अङ्क बाँड्न पुगेका हुन् ।

पहिलो खेलमा इरानलाई ६–२ को फराकिलो गोलअन्तरले हराएको इङग्याण्डले अमेरिकाविरुद्ध भने अपेक्षित नतिजा निकाल्न नसक्दा गोलविहीन भै अङ्क बाँड बाध्य भयो । अमेरिकाविरुद्ध बललाई आफ्नो नियन्त्रणमा राखेता पनि इङग्ल्याण्डले गोल गर्न असफल रह्यो ।

अमेरिकाले पनि इङ्ग्ल्याण्डविरुद्ध पहिलो हाफमै पाएको राम्रो अवसरलाई सदुपयोग गर्न भने सकेन । क्रिस्टियन पुलिसिचको प्रहार पोलमा लाग्दा सम्भावित अग्रताबाट अमेरिका चुक्न पुगेको थियो । यद्यपि, दुवै टिमले बराबरी खेलेता पनि अन्तिम १६ मा पुग्ने सम्भावना भने जीवितै राखेका छन् ।

समूह बीमा रहेको इङ्ग्ल्यान्डले २ खेलमा ४ अङ्क जोडेको छ भने अमेरिकाले पहिलो र दोस्रो खेलबाट १/१ अङ्क गरी २ अङ्क बटुलेको छ । इङग्याण्ड समूहको शीर्ष स्थानमा रहेको भने अमेरिका २ खेलमा २ सहित तेस्रो स्थानमा रहेको छ । दुवै टिम नकआउट चरणमा प्रवेश गर्न बाँकी खेल जित्नु पर्ने हुन्छ ।

समूह बीमा इङग्याण्ड र अमेरिकासँगै इरान र वेल्स रहेका छन् ।