दोहा – कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितअन्तर्गत समूह ‘बी’ मा रहेका इरान र वेल्सबीच आज भएको खेलमा इरानले इन्जुरी समयमा गोल गर्दै वेल्सलाई हराएको छ । कतारको अहमेद बिन अली रङ्गशालामा भरखरैमात्र सम्पन्न भएको खेलमा इरानले अन्तिम समयमा आएर लगातार २ गर्दै वेल्सलाई स्तब्ध बनायो । दुवै टिमले गोलका केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् । अन्ततः इरानले वेल्सलाई २–० गोलले पछि पार्दै हराउन सफल भयो ।

खेलको १६औं मिनेटमा इरानका अलि घोलिजाडेहले गोल गरेपछि भिडियो असिस्टेन्ट रेफ्री (भार)ले त्यसलाई अफसाइड घोषणा गरेको थियो । ३०औं मिनेटमा वेल्सका कप्तान गारेथ बेलले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार इरानको गोलकिपर हुसैन हुसैनीले सहजै नियन्त्रणमा लिए ।

पहिलो हाफको इन्जुरी टाइममा इरानका साइद इजाटोलाहीले गरेको क्रसमा पेनाल्टी बक्सभित्र रहेका सरदार अजमोउमले सम्पर्क बनाउँन सकेनन् । त्यसको अर्को मिनेटमा इरानका अहमख नौरोलाहले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार वेल्सका गोलकिपर वाइन हेनेसीले सहजै विफल बनाए ।

यसअघि भएको समूह चरणको पहिलो खेल वेल्स अमेरिकासँग १–१ को बराबरीमा रोकिँदा इरान भने इङ्ग्ल्यान्डसँग ६–२ ले पराजित भएको थियो । समूहमा एक खेलबाट एक अङ्क जोडेको वेल्स तालिकाको दोस्रो स्थानमा छ । समूहबाट शीर्ष दुई टिमले अन्तिम–१६ मा स्थान बनाउँनेछन् ।