रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मत गन्ने काम रोकिएको छ । मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो ।

मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध जनाएपछि मतगणनाको कार्य स्थगित भएको छ ।

निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार स्थगित भएको मतगणना सुचारु गराउन प्रयास भइरहेको छ । मतपेटिकामा मुचुल्कामा भन्दा ३४ थान मतपत्र बढी देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र गठबन्धनका प्रतिनिधिहरुले मतदान स्थगित गर्न माग गर्दै मतगणना छाडेर धर्नामा बसेपछि मत गणनाको काम रोकिएको छ ।

यस निर्वाचन क्षेत्रमा एमाले उम्मेद्वार विष्णुप्रसाद पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलबीच कडा प्रतिस्पर्धा भएको छ । सत्ता गठबन्धनले रुपन्देही–२ मा गणेश पौडेललाई समर्थन गरेको थियो ।