दोहा – एक्काइसौं संस्करणको कतारमा जारी विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि समूहचरणको दोस्रो खेलहरु हुँदैछन् । समूहचरणको पहिलो खेल आज बिहान सम्पन्न भएपछि नेपाली समयअनुसार आजै दिउँसोदेखि सोहीचरणका चार खेल हुन लागेका हुन् ।

कतार संस्करणमा सहभागी सबै ३२ वटै टिमले एक÷एक खेल खेलिसकेका छन् । प्रत्येक समूहमा चार टिम रहेका छन् । समूहचरणमा सबै टिमले तीन÷तीन खेल खेल्ने र प्रत्येक समूहका विजेता र उपविजेता गरी १६ टिममात्रै नकआउट चरण प्रवेश गर्नेछन् । कुनै पनि टिमका लागि समूहचरणमा विजेता या उपविजेता बनेर नकआउट चरणमा प्रवेश गर्न चुनौती छ ।

आज समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेल हुनेछन् । जसमध्ये नेदरल्याण्ड्स, इक्वेडर र इङ्ग्ल्याण्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यका साथ मैदानमा भिड्ने छन् । यी तीनै टिमले आफ्नो पहिलो खेल जितेका छन् ।

आज समूह ‘ए’ मा रहेका नेदरल्याण्ड र इक्वेडर तथा कतार र सेनेगलबीच खेल हुनेछ भने समूह ‘बी’ अन्तर्गत इङ्ग्ल्याण्ड र अमेरिका तथा वेल्स र इरानबीच खेल हुनेछ ।

आजको पहिलो खेल वेल्स र इरानबीच दिउँसो पौने ४ बजे अहमद अली बिन स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको वेल्स र इङ्ग्ल्याण्डसँग पराजित भएको इरान पहिलो जितको खोजीमा छ । वेल्सले जिते उसको ४ अङ्क हुने छ भने इरानले जित्न सके वेल्सलाई पछि पार्दै तीन अङ्क बटुल्ने अवसर प्राप्त हुनेछ ।

यस्तै समूह ‘ए’ मा रहेको घरेलु टोली कतारले आफ्नो दोस्रो खेल सेनेगलसँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने ७ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । कतार उद्घाटन खेलमा इक्वेडरसँग र सेनेगल नेदरल्याण्ड्ससँग समान २–० ले पराजित भएका थिए । त्यसैले दुवै टोली जितको खोजिमा पहिलो तीन अङ्क जोड्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।

समूह ‘ए’ कै नेदरल्याण्ड्स र इक्वेडर पनि दोस्रो जितको लक्ष्यसहित मैदानमा भिड्ने भएका छन् । राति पौने १० बजे हुने उक्त खेलमा जस्ले जित्छ उसका लागि नकआउट चरण सुरक्षित प्राय देखिनेछ । यी दुई टिमबीचकोे खेल खालिफा इन्टरनेसनल स्टेडियममा हुनेछ । नेदरल्याण्ड्स र इक्वेडर दुवैले पहिलो खेलमा तीन÷तीन अङ्क जोडेका छन् ।

यसैगरी अर्कोखेल अमेरिका र इङ्ग्याण्डबीच शनिबार बिहान पौने १ बजे अल बायत स्टेडियममा हुनेछ । इङ्ग्ल्याण्डले पहिलो खेलमा इरान विरुद्ध ६–२ को जित निकालेको थियो । उता अमेरिकाले भने बराबरीमा चित्त बुझाउँदै वेल्ससँग अङ्क बाँडेको थियो । आज शुक्रबारबाट सुरुहुने समूह चरणका दोस्रो खेलले नकआउट चरणमा पुग्ने १६ टिमको यात्रा तय गर्नेछ ।