पाँचथर – पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् ।
नेम्वाङले ३२ हजार एक सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी वि.सं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए ।
प्रदेशसभा(१) गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगू विजयी भएका छन् । नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई छ सय ३३ मतान्तरले हराउँदै जवेगू प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त पाए।
प्रदेशसभा (२)बाट सत्ता गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङवो विजयी भइसकेका छन् । प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मतान्तरले पराजित गर्दै आङबो दोस्रोपटक विजयी भएका हुन् । ३४ हजार तीन सय ६५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत प्राप्त भएको छ । उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाएका छन् ।