देउखुरी – दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २० हजार एक सय ३५ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार सात सय ९४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय मत खसेको थियो । दाङ–१ को प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का इन्द्रजित थारू निर्वाचित भएका छन् । उनी १ हजार ७ सय ७५ मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले १३ हजार ५ सय ५ मत प्राप्त गरेका छन् भने एमालेका गङ्गाराम भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ४० हजार एक सय छ मत खसेको थियो ।