जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार ः द वे अफ वाटर’ नामक चलचित्रको लगानी उठ्न चुनौती देखिएको छ । अहिलेसम्मकै ठूलो लगानीमा निमिर्त उक्त सिनेमाको लगानी उठाउनसमेत कम्तिमा २ बिलियन डलर कमाउनुपर्ने भएको छ ।

निर्देशक क्यामरुनले जिक्यू म्यागजिनसँगको एक अन्तर्वार्तामा ‘अवतार २’ अहिलेसम्म बनेकामध्ये सबैभन्दा धेरै लगानीमा महङ्गो सिनेमा बनेको बताएका छन् । रोचक कुरा के छ भने ‘अहिलेसम्म पाँच फिल्मले मात्र २ बिलियन डलर कमाउन’ सकेका छन् ।

सुरुमा २५० मिलियन डलरमा बनेको भनिएपनि मुद्रा स्फिर्तीको कारण लागत खर्च बढेको निर्देशक क्यामरुनको भनाई छ । वितरण कम्पनी ट्वेन्टिथ सेञ्चुरी फक्सका अधिकारीसँग पनि क्यामरुनले फिल्म इतिहासमै खराब ढङ्गले निर्माण खर्च बढेको गुनासो व्यक्त गरेका छन् ।

उक्त सिनेमाले २ बिलियन डलर कमाएमात्र लगानी सुनिश्चित गर्ने कुरा चाहिँ एकदमै चुनौतिपूर्ण हुने देखिन्छ । अहिलेसम्म सर्वाधिक कमाउने क्यामरुनको अघिल्ला फिल्महरु अवतार १ र टाइटानिकले मात्र २ बिलियन डलरको आँकडा पार गर्न सकेका छन् । अवतार १ ले २ दशमलब ९ बिलियन डलर कमाएको थियो भने टाइटानिकले २ दशमलब १ बिलियन डलर कमाएको थियो । डिज्नीको एभेन्जर्स ः एन्डगेमले २ दशमलब ७ बिलियन डलर कमाउन सकेको छ ।