फिदिम – पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दै उनी दोस्रो पटक विजयी भएका हुन् ।

कुल ३५ हजार ७ सय १५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार ६ सय ७२ मत र उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय पाँच मत पाएका छन् ।

जिल्लाको फिदिम नगरपालिका–११ घर भएका ४० वर्षीय आङ्बो २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनका तर्फबाट यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रहेका आङ्बो १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हुन् ।