कतार— विश्वकप फुटबल प्रतियोगिता –२०२२ को कतारमा जारी संस्करणमा अनपेक्षित नजिता आइरहेका छन् । अहिले बिहान दोहास्थित अल थुमामा मैदानमा भएको खेलमा स्पेनले कोस्टारिकालाई हराउँदै विजयी सुरुवात गरेको छ । उत्कृष्ठ लयमा रहेको स्पेनले कोस्टारिकाविरुद्ध सहज जित निकाले हो ।

विश्वकप प्रतियोगिताको २२ औं संस्करणको आफ्नो पहिलो खेलमा स्पेनले गोलको वर्षासहित कोस्टारिकामाथि ७–० को जित निकाल्यो । विश्वकपमा यो स्पेनको सर्वाधिक फराकिलो जित समेत हो । स्पेनको सामू निरिह देखिएको कोस्टारिका स्पेनी क्षेत्रमा धावा बोल्न सकेन । स्पेनको अधिकांश बल आफ्नै नियन्त्रणमा राखेको थियो । बिरालोले मुसा खेलाए जस्तै स्पेनले खेलमा कोस्टारिकालाई पूर्णरुपमा आफ्नो नियन्त्रणमा राखी निरिह बनाएको थियो ।

विश्वकप इतिहासमा स्पेनले पहिलो पटक ७–० को फराकिलो जित निकाल्ने यो पहिलो पटक हो भने फराकिलो गोल अन्तरले जित्ने स्पेन चांैथो टिम पनि हो । यसअघि सन् १९५४ मा उरुग्वेले स्कटल्यानडलाई र टर्कीले कोरियन रिपब्लिकलाई ७–० गोलले नै हराएका थिए । त्यसैगरी सन् १९७४ मा पोल्यान्डले हाइटीलाई र सन् २०१० मा पोर्चुगलले उत्तर कोरियालाई ७–० ले हराएको थियो ।

स्पेनका लागि ड्यानी ओल्मोले ११ औं मिनेटमा पहिलो गोल गर्दा दोस्रो गोल मार्कुस एसोनसियोले २१ औ मिनेटमा गर्दै आफ्नो टिमलाई विजयन्मुख बनाएका थिए । दुई गोलले पछि परेको कोस्टारिका खेलमा फर्कन प्रयत्न गर्दा नगर्दै स्पनेले पेनाल्टीमार्फत पुनः तेस्रो गोल गर्यो । पहिलो हाफमा ३–० गोलकोे अग्रता बनाएको स्पेनले दोस्रो हाफमा ४ थप्दै कोस्टारिका माथि ७–० गोलले फराकिलो अन्तरले हरायो । एकततर्फी भएको खेलमा स्पेनका लागि टोरेसले पुनः ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गरे ।

यसैगरी खेलको ७४ औं मिनेटमा युवा स्टार पाएज गाभिराले आफ्नो टिमका लागि पाँचौ गोल गर्दै आफ्नो लागि नयाँ इतिहास पनि बनाए ।स्पेनलाई आधा दर्जन गोल स्कोर पक्का गर्ने क्रममा कार्लोस सोलेरले ९० औ मिनेटमा टिमका लागि छैटौं गोल गरे । लगतै इन्जुरी समयमा अल्बारो मोराटाले टिमको स्कोर ७–० मा पु¥याएका थिए ।

विश्वकप इतिहासमा पाएज गाभिरा कम उमेरमा गोल गर्ने तेस्रो खेलाडी बन्न सफल भएका छन् । विश्वकप फुटबलको इतिहासमा कम उमेरमा गोल गर्नेमा पेले पहिलो हुन भने म्यानुएल रोसाल दोस्रो खेलाडी हुन् । पेलेले १७ वर्ष २ सय ४९ दिनमा, म्यानुएल रोसाले १८ वर्ष ९९ दिनमा गोल गरेका थिए भने अहिले स्पेनका युवा खेलाडी पाएज गाभिराले १८ वर्ष १ सय १० दिनमा गोल गर्दै आफुलाई अब्बल खेलाडीको रुपमा दर्ज गराएका छन् ।

यो जितसँगै स्पेन समूह ‘ई’ मा तीन अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । यसअघि भएको समुहकै अर्को खेलमा जापानले जर्मनीलाई २–१ ले पराजित गरेको थियो । समूह ‘ई’ अन्तर्गत रहेको जर्मन र जापानबीच हिजो भएको खेलमा जापानले जर्मनमाथि २–१ गोलको जित निकाल्दै विजयी सुरुवात गरेको थियो । जर्मनलाई स्पेनको फराकिलो जितसँगै नकआउटचरणमा प्रवेश गर्न कठिन देखिएको छ । उत्कृष्ठ लयमा देखिएको जापानले अब स्पेन र कोस्टारिकासँग खेल्न बाँकी छ भने स्पेनले जर्मन र जापानसँग खेल्नेछ ।