फाइल तस्वीर


कतार– कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार पनि चार खेल भएका छन् । आजको पहिलो खेलमा साविक उपविजेता क्रोएसियाले अफ्रिकन देश मोरक्कोलाई पन्छाउँदै जितको खोजिमा मैदानमा उत्रनेछ ।

कतारस्थित अल बायत स्टेडियममा हुने समूह ‘एफ’ को खेलमा युरोपियन राष्ट्र क्रोएसिया आफ्नो अघिल्लो विश्वकपको बलियो छवि कायम राख्न चाहन्छ । यी दुईबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुँदैछ ।

छैटौं पटक विश्वकप खेल्न कतार पुगेको मोरक्कोले यो सहित लगातार दोस्रो पटक विश्वकप खेल्दैछ । मोरक्को र क्रोएसियाबीच दोस्रो पटक एक–अर्काविरुद्ध प्रतिस्पर्धा हुन लागेको हो । यसअघिको एक भेटमा क्रोएसियाले जितेको थियो ।

विश्वकपको यात्रामा मोरक्कोको प्रतिस्पर्धा अहिलेसम्म सुखद् देखिंदैन । रुसमा आयोजित अघिल्लो संस्करणमा विश्वकपमा मोरक्को समूह चरणबाटै बाहिरिएको थियो ।

यस पटक समूहमा बलियो प्रतिद्वन्द्वीलाई पाखा लगाउनु पर्ने चुनौती मोरक्कोलाई रहेको छ । समूह ‘एफ’ मा क्रोएसियासँगै बेल्जियम र क्यानडा रहेका छन् ।