पत्रपत्रिकाबाट

काठमाडौं – कूल बीमा शुल्क सङ्कलनमा झण्डै तीन प्रतिशतले गिरावट आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तमा कुल बीमाशुल्क सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।

प्राधिकरणका अनुसार चालू आवको असोज मसान्तसम्ममा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी र १९ वटा निर्जीवन बीमा कम्पनीसहितका ३८ वटा कम्पनीहरूको कुल बीमाशुल्क सङ्कलन रकम ४६ अर्ब ६१ करोड ९३ लाख १० हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने यस्तो रकम ४७ अर्ब ८७ करोड ४१ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूले मात्र सङ्कलन गरेको कुल बीमाशुल्क रकम १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको यस्तो रकम नौ अर्ब ६९ करोड ९३ लाख ४७ हजार रुपैयाँ रहेको थियो । (आर्थिक राष्ट्रिय दैनिकबाट)