काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक ७ अङ्कले ओरालो लागेको छ । साताको पहिलो कारोबारमा बजार परिसूचक ७ दशमलव १३ अङ्कले घटेको हो । सरकारले आइतबार निर्वाचनको दिन तथा सोमबार सार्वजनिक विदा दिँदा आज मङ्गलबारबाट बजार खुलेको थियो ।

बजार परिसूचक ० दशमलव ३७ प्रतिशतले घटेर १९२९ दशमलव ७० मा झरेको छ । ’क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ० दशमलव ३९ झरेर ३७९ दशमलव ५९ मा झरेको छ । उप–समूहतर्फ बैंकिङ क्षेत्र ० दशमलव ०९, जीवन बीमा समूह ० दशमलव ०३ प्रतिशतले बढ्दा अन्य ११ परिसूचक राताम्मे रहेका छन् ।

यस्तै मङ्गलबार २२८ कम्पनीको १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७ सय ७९ मूल्य बराबरको सेयर खरिद बिक्री भएको छ । २४ हजार २ सय ४३ पटकको कारोबारमा ३७ लाख ६३ हजार ८ सय ३६ कित्ता सेयर खरिद बिक्री भएको थियो । सामान्य अङ्कले बजार घट्दा ५२ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ । जानकी फाइनान्स, खप्तड लघुवित्त, धौलागिरि लघुवित्त, सयपत्री हाइड्रोपावर,सिद्धार्थ इक्विटी फण्ड लगायतका सेयर उच्च कारोबार गर्ने रहेका छन् ।