काठमाडौं – कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार राति भएको खेलमा नेदरल्याण्डले विजयी सुरुवात गरेको छ । युवा खेलाडी कोडी गाक्पो र वैकल्पिक खेलाडी ड्याभी क्लासनले गरेको गोलमा नेदरल्यान्ड्सले सेनेगललाई पाखा लगाउँदै जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक उक्त खेलमा पूर्वार्धको अन्तिम सङ्घारमा आइपुग्दा नेदरल्याण्ड सेनेगल माथि हावी हुन पुग्यो । नेदरल्याण्डका २३ वर्षे फरवार्ड गाक्पोले खेल सकिन ६ मिनेट बाँकी हुँदा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउन सफल भए । पीएसभी आइन्डहोभनका फरवार्ड गाक्पोले फ्रांक डी योङको पासलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।

इन्जुरी समयमा वैकिल्पक खेलाडी क्लासनले अर्को गोल थपेपछि नेदरल्यान्ड्सले महत्वपूर्ण तीन अङ्क पक्का गरे । अर्का वैकल्पिक खेलाडी मेम्फिस डिपाएले हानेको प्रहार सेनेगलका गोलकिपर इडुवार्ड मेन्डीले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा पाएको बललाई क्लासनले रिवान्स भएको बललाई गोलमा परिणत गरेपछि नेदरल्याण्ड २–० गोलले जित निकाल्न सफल भयो ।

यो जितसँगै नेदरल्याण्ड तीन अङ्क जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ । पराजित सेनेगलमाथि भने समूहका बाँकी खेलमा दबाब बढेको छ । समूह ‘ए’को पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई २–० ले हराएको थियो । सेनेगलले चोटका कारण आफ्नो मुख्य खेलाडी सडियो मानेलाई गुमाएको थियो ।समान तीन अङ्क जोडेको इक्वेडर दोस्रो स्थानमा छ । सेनेगललाई अब अघिल्लो चरणमा स्थान बनाउनका लागि बाँकी खेल जित्नै पर्ने दबाब हुन्छ । नेदरल्यान्ड्स २०१४ पछि पहिलोपटक विश्वकप खेलेको हो ।