सुर्खेत – हुम्लाको नाम्खा गाउँपालिका– ६ को तीन वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ भने ३४ मतदान केन्द्रका मतपेटीका अझै सदरमुकाम आइपुगेका छैनन् । लिमीको तिल गाउँस्थित हिमशिखर आधारभुत विद्यालय मतदान केन्द्र हल्जी गाउँको सुनखानी आधारभुत विद्यालय मतदान केन्द्र र जाङ गाउँको भृकुटी आधारभुत विद्यालय मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।

जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार जिल्लाका ५९ वटा मतदान केन्द्रमध्ये २५ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइसकिएको छ ।

हुम्लाको प्रदेश (क) मा रहेका ३४ वटा मतदान केन्द्रका मतपेटिका अझै सदरमुकाम नआएको निमित्त निर्वाचन अधिकारी रानाले बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी सीता परियारले सर्वदलीय बैठक बसेर सम्भवत मतपेटीका पैदलै ल्याउने निर्णय हुन सक्ने बताउनुभयो । मतपत्र लिएर आजै हिडेपछि भोलि बेलुकासम्म सिमकोट आईपुग्ने प्रजिअ परियारको भनाइ छ ।