फिफा विश्वकपको ट्रफी, फाइल तस्वीर


कतार – विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘फिफा विश्वकप फुटबल’को २२ औं संस्करण आजदेखि कतारमा सुरु हुँदैछ । विश्व फुटबलको कुम्भमेला मानिने विश्वकप यसपटक कतारमा हुन लागेको हो ।

विभिन्न विवाद र आलोचनाबीच कतारमा आजदेखि सुरुहुन लागेको विश्वकप फुटबल प्रतियोगितामा विभिन्न ३२ देशहरुले प्रतिस्पर्धा गर्दैछन् । नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेल आयोजक राष्ट्र कतार र इक्वेडरबीच अल बायत स्टेडियममा हुनेछ । राजधानी दोहाबाट करिब ३५ किलोमिटर टाढा रहेको कतारको उत्तर–पूर्वी तटीय क्षेत्रमा अवस्थित यो रङ्गशालाको कुल ६० हजार दर्शक क्षमताको छ ।

कतार विश्वकपमा ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ । आगामी २३ औं संस्करण अमेरिका र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन् । विश्वकपको २३ र्औं संस्करणमा ४८ राष्ट्रको सहभागिता रहने फिफाले पहिले बताइसकेको छ । एक महिनासम्म सञ्चालन हुने विश्वकप फुटबलको कुम्भमेलामा ३२ टिमको कुल ६४ खेल हुनेछ । विश्वकपको समापन लुसैल रङ्गशालामा हुनेछ ।

विश्वकपको मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि ब्राजिल र अर्जेन्टिनालाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । त्यसपछि फ्रान्स, इङ्ग्ल्यान्ड र स्पेनलाई पनि विश्वकप जित्न सक्ने टिमका रुपमा लिइएको छ ।