काठमाडौं – युएईविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज नेपालले २–१ ले जितेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिज २–१ ले जितेको हो ।

यसअघि पहिलो खेल ८४ रनले हारेको नेपालले दोस्रो खेल ३ विकेटले जितेको थियो । तेस्रो खेल जित्न नेपालले १ सय ७७ रनको लक्ष्य ४ विकेट गुमाएर ४० ओभर १ बलमा पुरा गरेको हो । नेपाललाई जित दिलाउन आशिफ शेखले सर्वाधिक ८५ रनको योगदान गरे । ज्ञानेन्द्र मल्लले ६४ रन जोडे । एकदिवसीयमा ज्ञानेन्द्रको यो सर्वाधिक रन हो । यसअघि उनले सर्वाधिक ५६ रन जोडेका थिए ।

आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गरे । एकदिवसीयमा नेपालका लागि दोस्रो विकेटका लागि सर्वाधिक रनको साझेदारी हो । त्यसैगरी समग्रमा दोस्रो सर्वाधिक रनको साझेदारी समेत हो । एकदिवसीयमा सर्वाधिक १ सय २९ रनको साझेदारी रहेको छ । युएईका तर्फबाट हजरत बिलाल र आयन अफजल खानले १÷१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ रोजेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । युएईका लागि आयन अफजल खानले ५४ रनको अर्धशतकीय इनिङ खेले भने हजरत बिलालले २० रन बनाए । आयन र हजरतले ८३ रनको साझेदारी गरे। यस्तै अलिशन शराफुले ३३ रन बनाए भने रोहन मुस्तफाले २४ र मुहमद वासिमले ११ रन जोडे । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २÷२ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १÷१ विकेट लिए ।