महोत्तरी– नेकपा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका हुन् । एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएको स्थानीय रामभुषण साहले बताएका छन् । पीडित अनिल मण्डलले भने– ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे ।’

आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल रहेका छन् । उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ ।

रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ । एमाले जिल्ला इञ्चार्ज सरोज यादवले भने घटनाको विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । माओवादीले भने घटनाको भत्सर्ना गरेको छ । माओवादीका जिल्ला इञ्चार्ज राजु खड्काले घटना निन्दनीय भएको भन्दै ‘आक्रमण जसले गरे पनि दोषीउपर छानबिन होस् ’ भनेका छन् ।