काठमाडौं– साताको चौथो दिन आज सेयर बजार उकालो लागेको छ । मङ्लबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से आज बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ४० अङ्कले वृद्धि हुँदै १९११ दशमलव २६ विन्दुमा आएर रोकिएको छ । (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि शून्य दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ ।

१८६ कम्पनीको कारोबार हुँदा १४१ कम्पनीमा वृद्धि भएको, ३८ कम्पनीको सेयर ओरालो लागेको र सातवटा कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ । आज २४ लाख ९५ हजार ६१२ सेयर कित्ता किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजार बढीको कारोबार भएको हो ।

यसैगरी, आज डिणी पावर कम्पनीको ६ करोड ३ लाख ३८ हजार ६३० रुपैयाँ र हिमालयन डिस्ट्रिलीको चार करोड १ लाख ९० हजार ७१६ रुपैयाँको कारोबार भएको छ । सिक्लेस हाइड्रो पावरमा १० प्रतिशत, गणपती लघुवित्त वित्तीय संस्था ७ दशमलव ७१ प्रतिशत र नारायणी विकास बैंक ५ दशमलव ५३ प्रतिशतले वृद्धि भएको छ ।

आज म्युचुअल फण्ड शून्य दशमलव ८५ प्रतिशत र ट्रेडिङ इन्डेक्स १ दशमलव २० प्रतिशतले ओरालो लागेको छ भने अन्य उपसूचक कम्पनीहरू वृद्धि भएको छ । सबैभन्दा धेरै विकास बैंक १ दशमलव २७, हाइड्रोपावर १ दशमलव १३ प्रतिशत, इन्भेष्टमेन्ट शून्य दशमलव ८७, फाइनान्स १ दशमलव ०१ र म्यानुफेक्चरिङ एण्ड प्रोसेसिङ शून्य दशमलव ८८ वृद्धि भएको नेप्सेले जनाएको छ ।