जी–७ का सदस्य राष्ट्रका नेताहरुको आपत्कालीन बैठकको तस्वीर ।


इण्डोनेसिया – पोल्याण्डमा खसेको भनिएको रुसी मिसाइलको सम्बन्धमा इण्डोनेसियामा जारी जी–२० को आजको बैठकमा छलफल भएको छ । इण्डोनेसियाको बालीमा जारी जी–२० को अन्तिम दिनको आज भैरहेको अन्तिम बैठकमा जी–७ देशका नेताहरुले पोल्याण्डमा खसेको कथित रुसी मिसाइलबारे छलफल गरेका हुन् ।
रुसले गत फेब्रुवरी २४ तारिखबाट युक्रेनमाथि आक्रमण गरेसँगै रुसले कुनैपनि बेला युरोपमा थप आक्रमण गर्न सक्ने सम्भावना रहेको विश्लेषण भैरहेको बेला पोल्याण्डमा खसेको मिलाइला रुस वा अन्य देशको हो भन्ने विषयमा छलफल भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । पोल्याण्ड नेटो सैन्य गठबन्धनको सदस्य राष्ट्र भएकाले त्यहाँ रुसले क्षेप्यास्त्र प्रहार गरेको आशंका गरिएको छ ।

जी–७ को सदस्य राष्ट्रको बैठकमा अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्ड्सका नेताहरूको उपस्थितिमा सो घटनाको बारेमा छलफल भएको तस्वीर सार्वजनिक भएको छ । उक्त बैठकमा ती नेताहरु बाहेक युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपियन युनियनका आयुक्तको पनि उपस्थिति रहेको बताइएको छ ।

नेटो सैन्य गठबन्धनमा पोल्याण्ड पनि सदस्य राष्ट्र हो । यस घटनालाई गम्भीर रुपमा लिंदै नेटोमाथि आक्रमण मान्न सकिने भन्दै यो आक्रमण गम्भीर हुनसक्ने जी–७ को बैठकमा छलफलभएको छ । नेटा सङ्गठनका कुनै पनि सदस्य राष्ट्रमा सशस्त्र आक्रमण भएमा अन्य सदस्य राष्ट्रले सहयोग गर्न अगाडि आउने र आक्रमण भएको वा भइरहेका देशमा नेटोको सेना पठाउन सक्छ । पोल्याण्डमा भएको मिसाइल आक्रमणलाई गम्भीर रुपमा लिंदै यदि सो आक्रमणमा रुसको संलग्नता रहेको पुष्टि भयो भने यसले युरोपमा द्वन्द्व बढाउने खतरा रहेको विश्लेषण भैरहेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका संवाददाता क्रिस मेसनका अनुसार पोल्याण्डमा भएको घटनापछि जी–२० का सबै देशका योजनाहरू फेल भएको देखिन्छ । पश्चिमी देशका नेताहरू आफ्ना रक्षा र परराष्ट्रमन्त्रीहरूसँग कुराकानी गर्न र पोल्याण्डलाई पनि फोन गर्न व्यस्त छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनक पोल्याण्डसँग सम्पर्कमा छन् । जो बाइडेनले नेटो प्रमुख जेन्स स्टोल्टनबर्गसँग पनि वार्ता गरेको बताइएको छ ।

पोल्याण्डको विदेश मन्त्रालयले हिजो मङ्गलबार दिउँसो ३ः४० मिनेटमा आफ्नो भूमिमा ‘रुसी क्षेप्यास्त्र’ खसेको बताएको थियो । उक्त आक्रमणमा परी सेरेवोडो गाउँमा दुई जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । पोल्याण्डले क्षेप्यास्त्र कसले प्रक्षेपण ग¥यो भन्ने बारे कुनै “निर्णायक प्रमाण“ नभएको बताएको छ । पोल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता लुकाज जसिनाले पोल्याण्डका लागि रुसी राजदूतलाई घटनाको ‘तत्काल विस्तृत स्पष्टीकरण’ दिन बोलाइएको भनिए तापनि उनले सो क्षेप्यास्त्र कसले हान्यो भन्ने कुरा भने खुलाएनन् । युद्धमा दुवै पक्षले रुसी युद्ध सामग्री प्रयोग गरेका छन् ।

पोल्याण्डमा भएको भनिएको मिसाइल आक्रमणमा आफ्नो कुनै सम्लग्नता नभएको भन्दै उक्त समाचारको खण्डन गरेको छ । रुसी रक्षा मन्त्रालयद्वारा विज्ञप्तिमा ‘रुसले युक्रेनी–पोलिश राज्य सीमा नजिकका लक्ष्यहरूमा कुनै आक्रमण गरेको छैन । स्थितिलाई अझ बिगार्ने उद्देश्यले गरिएको उक्साहट हो’ – भनिएको छ । न्यूज एजेन्सी