कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले आज मन्त्री खड्कालाई जिम्मेवारीबाट हटाएर उक्त मन्त्रालय आफैँले हेर्ने गरी राख्दै मन्त्री खड्कालाई हटाएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाउनुभएको हो ।

मन्त्री खड्का नेपाली काङ्ग्रेसका निवर्तमान सांसद हुनुहुन्छ । उहाँ वि.सं २०७४ सालमा समानुपातिक सांसद हुनुभएको थियो । पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई मन्त्रीबाट हटाइएको मुख्यमन्त्री पोखरेलनिकट स्रोतले जनाएको छ । खड्का कास्की क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (ख) मा उम्मेदवार आकाङ्क्षी हुनुहुन्थ्यो । गण्डकीका एक मन्त्रीले भन्नुभयो, ‘पार्टीलाई असहयोग गरेपछि उहाँ मन्त्रीबाट बर्खास्त हुनुभएको हो, चुनावमा पनि असहयोग गर्ने मन्त्रीलाई बहाल राख्न आवश्यक छैन ।’

यस सम्बन्धमा मन्त्री खड्काले भने निर्वाचन आचारसंहिताले गर्दा चुनावी अभियानमा लाग्न नमिलेको बताउँदै आउनुभएको छ । यसअघि मुख्यमन्त्री पोखरेलले ऊर्जा मन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गर्नुभएको थियो । गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश सभाका उम्मेदवार फणिन्द्र देवकोटाको चुनाव प्रचारमा नहिँडेको आरोपसहित आचार्यलाई मन्त्रीबाट बर्खास्त गरिएको थियो । तर आचार्य हिजोआज सत्ता गठबन्धनका उम्मेदवारहरू प्रचण्ड लगायतको चुनावी कोणसभामा सहभागी भइरहनुभएको देखिन्छ ।