फाइल तस्वीर

बाली – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा हाल देखा परिरहेका साझा र विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल गरेका छन् । उनले विश्वमा पछिल्लो समयमा विभिन्न समस्याहरु देखिएकाले ती समस्या तथा चुनौतीको समाधानका लागि विश्वका नेता एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।

इन्डोनेसियाको बालीमा आजदेखि हुन लागेको ग्रुप अफ ट्वान्टी (जी २०) सम्मेलनको पूर्वसन्ध्यामा उनले सो समूहका नेताहरुलाई यस्तो अपिल गरेका हुन् । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या मानव जीवनका निम्ति एक प्रमुख चुनौतीका रुपमा देखिएकाले जलवायु परिवर्तनका असर कम गर्न तथा त्यसको प्रभावबाट विश्वलाई बचाउन सबै लाग्नुपर्ने उनले बताए ।

जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधानका लागि जी २० समूहका देशले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँदै उनले स्वास्थ्य, शिक्षा, लैंगिक समानता, नवीकरणीय ऊर्जालगायत क्षेत्रमा समूहले लगानी गर्नुपर्ने सुझाव दिए । महासचिव गुटरेसले जलवायु परिवर्तनको असर कम गर्न राष्ट्रसङ्घले अघि सारेको एजेण्डा तथा सम्झौता कार्यान्वयनमा इमान्दार बन्न पनि आग्रह गरे ।