इण्डोनेसिया – विश्वका दुई शक्तिशाली देश चीन र अमेरिकाका राष्ट्राध्यक्षहरुबीच इण्डोनेसियाको बालीमा भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच जी–२० सम्मेलनका लागि बाली पुगेका बेला सोमबार वार्ता भएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ता सौहार्द र खुला कुराकानी भएको बताउँदै चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले ‘चीनले ताइवानमाथि आक्रमण गर्छ भन्ने आफूलाई नलागेको बताउनु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । दुई वर्ष अघि अमेरिकाको राष्ट्रपति बनेका बाइडेन र चीनिया राष्ट्रपति सी जिनपिङबीच पहिलोपटक प्रत्यक्ष वार्ता भएको हो । विश्वका दुई शक्तिशाली राष्ट्रका राष्ट्रपतिबीच इण्डोनेसियाको बालीमा भएको वार्तामा उत्तर कोरिया तथा रुसद्वारा युक्रेनमाथि गरिएको आक्रमणसहितका विषयमा छलफल भएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले बालीमा पत्रकारहरुसँग कुरा गर्दै ‘मैले अमेरिकाको पक्ष राखें, राष्ट्रपति सीले चीनको पक्ष राखेका छन् । हामीले स्पष्ट रूपमा वार्ता गरेका छौं र यो क्रम जारी रहने छ’–अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनले ‘चीनले उत्तर कोरियालाई नियन्त्रण गर्न सक्छ भन्न सक्ने अवस्थामा छैन । तर, अर्को परमाणु हतियार परीक्षणबाट रोक्नका लागि चीनको जिम्मेवारी रहेको कुरा मैले भनेको छु ।’

दुवै राष्ट्राध्यक्षले युक्रेनमा रासायनिक हतियार प्रयोगको विरोध गर्ने बताउनुभएको छ । चिनिया राष्ट्रपति सीले युक्रेनमा जारी युद्ध गम्भीर रहेकाले त्यसको सहज समाधान खोज्न अप्ठ्यारो हुने बताउनु भएको समाचारमा जनाइएको छ । तीन घण्टा लामो वार्ताको क्रममा ताइवान प्रमुख विषय बनेको थियो । चीनले ताइवानलाई आफ्नो देशको अंश दाबी गर्दै आएको छ । तर, ताइवानले भने आफू स्वतन्त्र स्वायत्त राज्य रहेको बताउँदै आएको छ । अमेरिका–चीन सम्बन्धमा ताइवान जहिले पनि विवादास्पद विषय बन्ने गरेको छ ।

गत अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि अमेरिका–चीन सम्बन्ध थप संकटमा पुगेको थियो । चीनले आक्रमण गरेमा ताइवानको रक्षा गर्ने अमेरिकाले बताउँदै आएको छ । बाइडेनले एक चीन नीतिमा अमेरिका अडिग रहेको तर ताइवानका सम्बन्धमा पनि नीतिगत परिवर्तन नभएको उनले बताए। आक्रमण भएको अवस्थामा ताइवानको रक्षा गर्ने उनले उल्लेख गरे । आफूहरूबीच प्रमुख मुद्धा सम्बोधनका लागि वार्ताको संरचना बनाउन सहमति भएको बाइडेनले जानकारी दिए। चाँडै नै विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले वार्तालाई निरन्तरता दिन चीनको भ्रमण गर्ने पनि उनले बताए ।

दुई देशबीचको प्रतिस्पर्धालाई स्वीकार गर्दै तनावलाई समाधान गर्ने तर्फ वार्ताले सहयोग गर्ने अपेक्षा उनले बताए। आफूहरूबीच जलवायु परिवर्तनको मुद्धा सम्बोधनका सम्बन्धमा पनि कुराकानी भएको बाइडेनले जानकारी दिए । यतिबेला अमेरिकी राष्ट्रपति बाइडेनसहित विश्वका धनी मुलुकहरुका नेताहरु जी–२० सम्मेलनका लागि इण्डोनेसियाको बालीमा पुगेका छन् ।